अन्त्येष्टिमा कोको आउँछन् भनेर हेर्न मरेको नाटक !

ब्राजिलका एक व्यक्तिले आफ्नो अन्त्येष्टिमा कोको आउँछन् भनेर जान्नका लागि आफैं मरेको नाटक गरेका छन् ।

‘सेरेमोनियालिस्ट’ को रूपमा ६० वर्षका बाल्टाजार लेमोसले सयौँको अन्त्येष्टि गरिसकेका छन् । यो अवधिमा उनले कसैको अन्तिम संस्कारमा दुई जना आउने गरेको र कसैको भने ५ सय जनासम्म आउने गरेको देखेका थिए ।

हालै, उनलाई पनि आफ्नो अन्तिम संस्कारमा आफ्ना को कति साथी र आफन्त आउलान् भन्ने उत्सुकता जाग्यो त्यसैले उनले मरेको नाटक गरे । त्यो पनि, अन्तिम संस्कारमा को को आउँछन् त भनेर हेर्नका लागि मात्रै ।

जनवरी १० तारिखमा कसैले बाल्टाजार लेमोसको सामाजिक सञ्जालमा तस्बिरसहित उनको निधन भएको कुरा लेख्यो । जसमा भनिएको थियो, ‘….बाल्टाजारको निधन भएको दुःखद खबर दिन चाहन्छु । थप जानकारी चाँडै दिनेछु।’ यसको एक दिनअघि साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालअगाडि बसेको उनको तस्बिर पोस्ट गरिएको थियो, त्यसैले उनको निधनको खबरलाई धेरैले साँचो ठाने।

बाल्टाजारका अनलाइनका साथीले उनको निधनको खबर सेयर गर्न थाले । कमेन्टमा धेरैले श्रद्धाञ्जली लेखे र के कारणले मृत्यु भयो भनेर सोधे । तर यसबारे केही जानकारी दिइएको थिए न। अन्तिम संस्कार भने कहाँ र कहिले हुनेछ भनेर फेसबुकमा जानकारी दिइएको थियो ।

जनवरी १८ तारिखका दिन बाल्टाजारका साथीभाइ र आफन्त उनको पैतृक घर भएको सहर कुरिटिबामा भेला भए, जहाँ उनको कथित अन्त्येष्टि भइरहेको थियो।

यस क्रममा बाल्टाजारले आफ्नो जीवनबारे बोले । त्यति बेला धेरै मानिस रोए, किनकि उनीहरूले त्यो रेकर्ड गरिएको होला भनेर ठाने । त्यसपछि एउटा ढोका खोलियो र बाल्टाजार सबैसामु उपस्थित भए।

उनलाई देखेर कोही रुन थाले, कोही मुख खोलेर हेर्न थाले । तर जब उनले आफूले मरेको नाटक गरेको भनेर बताए तब त्यहाँ उपस्थित धेरै जना रिसाए।

बाल्टाजार लेमोसको कथा सोसल मिडियामा भाइरल भयो । कतिले किन त्यस्तो गरेको भनेर उनीसँग सम्पर्क पनि गरे । जवाफमा उनले आफ्नो मृत्यु हुँदा को–को आउँछन् भनेर थाहा पाउन त्यस्तो गर्न मन लागेको बताएका थिए ।

कसैलाई दुःखी बनाउने आफ्नो उद्देश्य नभएको र यसका लागि सबैसँग माफी मागेको उनले बताएका छन् । – एजेन्सीको सहयोगमा

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय