मेटलाइफ नेपाल पनि अब एनपिएसमा आबद्ध

काठमाडौं, १० माघ । अमेरिकी बीमा कम्पनी मेटलाइफको नेपालस्थित शाखा कार्यालय मेटलाइफ नेपाल पनि नेशनल पेमेन्ट स्विच (एनपिएस)मा आबद्ध भएको छ ।

मेटलाइफले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल)को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनपिएसको लागि दुई संस्थाहरू बीच सम्झौता भएको हो।

उक्त सम्झौतापछि मेटलाइफका ग्राहकहरूलाई प्रिमियम भुक्तानी गर्न तथा मेटलाइफबाट भुक्तानी प्राप्त गर्न पनि थप सहज हुनेछ । त्यसैगरी, मेटलाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, सर्वेयर भुक्तानी, तलब, भेण्डर भुक्तानी लगायतका कारोबारहरू स्वचालित रुपमा गर्न सक्ने बताएको छ ।

सम्झौता पत्रमा मेटलाइफका तर्फबाट संस्थाका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

मेटलाइफका उपाध्यक्ष निर्मल काजी श्रेष्ठले भने, ‘हामी सधै आफ्ना ग्राहकहरूलाई थप सहज रुपमा सेवा प्रदान गर्ने उपायहरू गरिरहेका हुन्छौँ र नेपाल क्लियरिङ हाउससँग भएको यस सम्झौताले हाम्रा ग्राहकहरूलाई प्रिमियम भुक्तानी गर्न थप सहज हुनेछ भने मेटलाइफबाट बीमा दाबी तथा अन्य भुक्तानी प्राप्त गर्न पनि छिटो र सहज हुनेछ ।’

एनपिएसअन्तर्गत एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआइमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् ।

त्यस्तै, अन्य भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका ८० भन्दा बढी गैर-बैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय