नारायणी नदी किनारमा गाडिएको फोहोर तत्काल निकाल्न सर्वोच्चको आदेश

चितवन, ५ माघ । सर्वोच्च अदालतले नारायणी नदीको किनारमा गाडिएको फोहोर तुरुन्त निकाल्नका साथै नदी किनारमा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले उक्त आदेश जारी गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयविरूद्ध जारी उक्त आदेशमा भनिएको छ, ‘मुद्दाको अन्तिम किनारा नभएसम्म नारायणी नदीमा कुनै प्रकारको ढल मिसाउने कार्य नगर्न, डम्पिङ साइटमा बिसर्जन गर्ने फोहोर मैला नदी किनारमा बिसर्जन नगर्न, गर्न नदिन र उद्योग वाणिज्य संघ चितवनले चितवन महोत्सव गर्न नारायणी नदीको किनारमा गाडेको फोहोर अबिलम्ब निकाल्न लगाई नदी प्रदूषित हुने अन्य कुनै कार्य हुन नदिन यो आदेश जारी गरिएको छ ।’

नदी किनारको खाल्डाहरुमा फोहोर गाड्न थालिएपछि बेटर चितवन, वे ग्रूप, हाम्रो दृष्टी राम्रो दृष्टी, नेपाल डेभलपमेन्ट सोसाइटीलगायत चितवनका विभिन्न संस्थाहरूले चितवन महोत्सवको आयोजक उद्योग वाणिज्य संघ र भरतपुर महानगरपालिकाविरूद्ध अन्दोलन गर्दै ‘सेभ नारायणी’ अभियान सञ्चालन गरेका थिए ।

स्थानीयको माग सुनुवाई नभएपछि अधिवक्ता सञ्जय अधिकारीले नदी प्रदूषित भई वातावरण तथा जलचर प्राणीहरूमा नकरात्मक असर परेको र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको संविधानप्रदत्त मौलिक हकमा आघात पुगेको भन्दै उक्त कार्य नगर्न अन्तरिम आदेश र परमादेशको मागदाबी गर्दै गत पुस १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय