गोरु जुधाइ हेर्न हेलिकप्टर !

काठमाडौं, ४ माघ । माघे संक्रान्तीको दिन गोरु जुधाउने परम्परा नुवाकोट र धादिङमा पृथ्वीनारायण शाहको पालादेखि नै सुरु भएको हो । नुवाकोटको तारुका र धादिङको मैदीमा गोरु जुधाएर मनोरञ्जन लिने चलन अझै पनि छ ।

माघे संक्रान्तीमा क-कस्को गोरु जुधाउने भन्ने कुरा पहिल्यै गाउँमा तय गरिन्छ । गोरु जुधाइसकेपछि जित्ने गोरु धनीले पुरस्कार पाउने पनि व्यवस्था हुन्छ । तर, अचम्मको कुरा रमाइलोको लागि गोरु जुधाउने गरिएको ठाउँमा यसपटक गाउँपालिकाले १० लाख बजेट दिएको र त्यसबाट नेताले हेलिकप्टर चढेको समेत चर्चा छ ।

नुवाकोटमा माघे संक्रान्तिको दिन तारकेश्वर गाउँपालिकामा गोरु जुधाउने कार्यक्रमलाई गाउँपालिकाले बजेट दिएको चर्चापछि त्यसको आलोचना समेत भएको छ । यद्यपि बजेट विनियोजनबारे गाउँपालिका मौन छ ।

काठमाडौंबाट गल्छी हुँदै जाँदा सडक यातायातबाट ढिलोमा पनि साढे दुई घण्टामा तारुका पुगिन्छ । यसपटकको गोरु जुधाई हेर्न नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत सहित प्रदेश सभा सदस्य बहादुर सिंह लामा र गाउँपालिका अध्यक्ष काठमाडौंबाट हेलिकोप्टरमा गएका थिए ।

गाउँपालिकाले गोरु जुधाइको निम्ति छुट्याएको १० लाख बजेटबाट नेताहरु चढेको हेलिकप्टर खर्चसमेत व्यहोरिएको चर्चा छ । काँग्रेस प्रवक्ता तथा पूर्वमन्त्री डा. महत, काँग्रेस बाग्मती प्रदेश सभामा संसदीय दलका नेता तथा नुवाकोट २ का प्रदेश सभा सदस्य लामा र गाउँपालिका अध्यक्ष शिव अधिकारीले दुई घण्टाको मोटरबाटोमा महँगो हेलिकोप्टर प्रयोग गरेको भन्दै त्यसको चौतर्फी आलोचना भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय