धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी, पाँच घर जलेर नष्ट

धनकुटा, ३० पुस । धनकुटाको सिँधुवा बजारमा शुक्रबार साँझदेखि लागेको भीषण आगलागीमा पाँच घरहरु जलेर नष्ट भएका छन् । छथर जोरपाटी गाउँपालिकामा पर्ने सिँधुवा बजारमा बेलुका करिब ७ बजेतिर आगो लागेको थियो ।
आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएका छन् । स्थानीय सन्तोष राई, झमक थापा, होम बहादुर थापा, अर्जुन घिमिरे र जिग बहादुर खड्काको घर आगोले जलेको छ ।
आगो निभाउन धनकुटा नगरपालिका र छिमेकी जिल्ला तेह्रथुमको लालीगुराँस नगरपालिकाका दमकल खटिएका थिए । आगो फैलन नदिन स्थानीय र प्रहरी पनि खटिएका थिए । क्षति बढ्न नदिन केही स्थानीयको घर पनि भत्काइएको थियो ।
आगो के भएर लाग्यो भन्नेबारेमा यकिन तथ्य आइसकेको छैन भने क्षतिको यकिन विवरण पनि आउन बाँकी छ ।

