सन्दीप लामिछाने आज थुनामुक्त हुँदै

काठमाडौं, २९ पुस । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । उच्च अदालत पाटनको बिहिबारको निर्णयअनुसार सन्दीप धरौटीमा रिहा हुन लागेका हुन् ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
उक्त आदेश काठमाडौं जिल्ला अदालत हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नुपर्ने भएकाले उनी बिहीबार छुटेका थिएनन् । आवश्यक प्रक्रिया पूरा गरेर उनी आज छुट्ने बताइएको छ ।
अदालतको आदेशअनुसार सन्दीपलाई केही शर्तसहित धरौटीमा छाड्न लागिएको हो । उनी देशबाहिर जान पाउने छैनन् भने काठमाडौं छाड्न पनि अनुमति लिनु पर्ने छ ।
त्यसैगरी पीडित किशोरी वा उनको परिवारसँग पनि कुनै प्रकारले सम्पर्क गर्न नपाउने गरी उनलाई रिहा गरिएको हो ।

