राष्ट्र निर्माण सबैको दायित्व: डा. लोहनी

काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पुर्व मन्त्री डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रको पहिचान दिने पृथ्वीनारायण शाहको सम्मान गर्नु हरेक नागरिकको कर्तव्य भएको बताएका छन् । उनले अब राष्ट्र निर्माण र विकास सबैको दायित्व भएकोमा जोड दिए ।

काठमाडौंको गोकर्णेश्वर-५ सुगमनगरमा आयोजित पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस समारोहमा बोल्दै डा.लोहनीले सो कुरा बताएका हुन् । उनले नेपाल राष्ट्र कसरी संचालन गर्ने भन्ने कुरा र सुशासनको कुरा पृथ्वीनारायण शाहले त्यतिबेला नै गरेको स्मरण गराउदै ‘राष्ट्रका सबैभन्दा ठुला शत्रु घुस लिन्या र दिन्या हुन’ भन्नु मुख्य सुशासनको कुरा भएको बताए ।

डा.लोहनीले देशमा बाहिरबाट सामान ल्याउने भन्दा पनि प्रबिधि र पैसा ल्याउने र आफैंले बस्तु उत्पादन गरेर बिदेशमा बेच्नुपर्नेमा जोड दिए । समावेशी अर्थनीति र राजनीति हुनुपर्छ भन्दै उनले साझा फुलवारी भनिसकेपछि सबैले फुल्न पाउनुपर्नेमा जोड दिए । डा.लोहनीले देशको बिकासलाई अवरोध गर्ने धृष्टता अब कसैले गर्न नहुने भन्दै सबैले मिलेर नेपाली जनताको मुहार फेर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवं पुर्व मन्त्री रामेश्वर फुयालले एकता दिवस वा पृथ्वी जयन्ती मनाउदा मात्रै राष्ट्रको सम्मान नहुने भन्दै अब सबै पक्ष मिलेर बिकास र समृद्धिको नेतृत्व गर्नुपर्नेमा जोड दिए । हरेक चुनौतीको सामना गर्न सक्ने ब्यक्तित्व पृथ्वीनारायण शाहको सम्मान गर्न नसक्नेले राष्ट्रको नेतृत्व गर्न सक्दैन भन्दै उनले मनदेखी नै राष्ट्र र राष्ट्र निर्मातालाई सम्मान गर्नुपर्ने बताए । उनले पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै अब देशलाइ समृद्ध बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताए ।

नेपाली काङ्ग्रेसका युवा नेता एवं बागमती प्रदेससभा सदस्य छिरिङ दोर्जे लामाले एकता र सहकार्यले नै देश बिकासको गतिमा अगाडी बढ्ने बताए । उनले एकता दिवस मनाए जस्तै देश बिकासमा पनि सबैको एकता आबश्यक भएकोमा जोड दिए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले राष्ट्रिय एकता दिवस मनाउनु भनेको राष्ट्र नायकको सम्मान हो भन्दै बिकास निर्माणमा नगरपालिकाले खेल्नुपर्ने भुमिकामा आफ्नो सहयोग हुने प्रतिबद्धता जनाए ।

गोकर्णेश्वर-५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले राष्ट्रिय एकता दिवस मनाउदा जस्तै बिकासमा पनि सबै पक्षका बिच एकता र सहकार्य आवश्यक भएको बताए । अधिकार सम्पन्न बागमतीका अध्यक्ष उद्धव तिमिल्सिनाले राष्ट्रिय एकता दिवसले सबैलाई बिकास र समृद्धिसंग जोड्न यो कार्यक्रम प्रभावकारी हुने भन्दै बागमती सरसफाइ र पार्क निर्माणमा सहयोग गर्ने वचन दिए ।

टाइमलाइन इन्टरनेशनलका अध्यक्ष नवराज रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रम कपिल उप्रेतीले संचालन गरेका थिए ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट जन्मेका पृथ्वीनारायण शाह १७९९ चैत २५ गते राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए ।

त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यका विजय हासिल गरे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय