संकटा दोस्रोपटक आहा रारा पोखरा गोल्डकप च्याम्पियन
अतिरिक्त समयमा सुनिल बलको निर्णायक गोलपोखरा, २३ पुस । संकटा क्लबले २२औं आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । दोस्रोपटक उपाधि जित्ने क्रममा उसले अमेरिकाको बीवाइएस्सी मिनेसोटालाई ३-२ गोलअन्तरले पराजित गर्यो ।

रोमाञ्चक फाइनल खेलमा संकटालाई जिताउन अतिरिक्त समयको ११७औं मिनेटमा सुनिल बलले निर्णायक गोल गरेका थिए । त्यसअघि आठौं मिनेटमा सुरज जिउ ठकुरी र ३५औं मिनेटमामेसुके ओलोमोउले गोल गरेका थिए ।
मिनेसोटाका लागि ३७औं मिनेटमा रेने सान्टिलोनले गोल गरेका थिए भने विल्स ग्रिफितले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हेडरमार्फत बराबरी गोल फर्काएपछि खेल २-२ को रोमाञ्चक अवस्थामा पुगेको थियो ।
दोस्रो हाफमा कुनैपनि गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलियो र कप्तान सुनिल बलले निर्णायक गोल गर्दै टोलीलाई उपाधि जिताए । सुनिल यसै सिजन लिग च्याम्पियन मच्छिन्द्र छाडेर संकटामा आएका हुन् ।
जीतसँगै संकटाले ट्रफीसँगै १२ लाख रुपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता बीवाइएस्सीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।
Comments
