साविक विजेता एपिएफलाई हराउँदै संकटा पोखरा गोल्डकपको उपाधि नजिक

तस्वीर: सुदर्शन रञ्‍जीत

पोखरा, २० पुस । संकटा क्लब पोखरामा जारी २२औं आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा भएको सेमिफाइनलमा साविक विजेता एपिएफ क्लबलाई ४-१ गोल अन्तरले हराउँदै संकटा उपाधिनजिक पुगेको हो ।

संकटाको जीतमा क्यामरुनी खेलाडीद्वय मेसुके ओलोमोउ र स्टेफेन बिनोङले २-२ गोल गरेका थिए । एपिएफका लागि हरि कार्कीले गरेको गोल सान्त्वना बन्यो ।

खेलको पाँचौं मिनेटमा बिनोङले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा बिनोङकै पासमा मेसुकेले गोल गर्दै पहिलो हाफमा टोलीलाई २-० ले अगाडि राखे ।

दोस्रो हाफको ६१औं मिनेटमा बिनोङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अगाडि बढाए । ७३औं मिनेटमा एपिएफका हरि कार्कीले गोल गर्दै खेलमा फर्कने संकेत दिए ।

यद्यपि मेसुकेले ८५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको ४-१ को जीत पक्का गरे । संकटाले अब चर्च ब्वाइज र बीवाइएस्सीबीचको विजेतासँग फाइनलमा खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय