पोखरा, १९ पुस । मनाङ मर्स्याङ्दी क्लब २२औं संस्करणको आहा रारा पोखरा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । मङ्गलबार पोखरा रङ्गशालामा सम्पन्न क्वाटरफाइनलमा बीवाइएस्सी मिनोसेटासँग १-० ले पराजित भएसँगै मनाङको यात्रा टुङ्गिएको हो ।
बीवाइएस्सीको जीतमा पहिलो हाफमा प्रविन बस्नेतले गरेको गोल नै निर्णायक बनेको थियो । उनले १६औं मिनेटमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
पहिलो हाफकै अग्रता अन्त्यसम्म जोगाएर बीवाइएस्सी अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । उसले अब फाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ ।