पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भोलि, पोखरामा बिदा

पोखरा, १६ पुस । केही समयअघि मात्र निर्माण सम्पन्न भएर क्यालिब्रेसन फ्लाइट पनि सञ्चालन गरिसएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार औपचारिक रुपमा उद्घाटन हुँदै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विमानस्थलको उद्घाटन गरेसँगै पोखरेलीले ५० वर्षअघि देखेको सपना अन्ततः पूरा हुने भएको छ । यही खुसीमा पोखरा महानगरपालिकाले आइतबारका लागि सार्वजनिक बिदा पनि दिएको छ ।
पोखरा महानगरपालिकाले एक सूचना जारी गर्दै विमानस्थलको समुद्घाटन समारोहमा व्यापक जनसहभागिता रहोस् भन्ने उद्देश्यका साथ महानगरपालिका कार्यालय महाशाखा शाखा वडा कार्यालय तथा अन्तर्गतका विद्यालय र शैक्षिक संस्था पनि बिदा रहने जनाएको हो ।

भोलि पोखराको अमरसिंह चोकदेखि विमानस्थल भएको ठाउँसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्याली निकाल्ने तयारी गरिएको छ ।
विहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ ।

