कीर्तिमानी मूल्यमा रोनाल्डो साउदी क्लबमा अनुबन्धित

काठमाडौं, १६ पुस । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन क्लब अल नासरमा अनुबन्धित भएका छन् । ३७ वर्षीय रोनाल्डोलाई नासरले वार्षिक १७.७ करोड पाउन्डमा अनुबन्ध गरेको हो ।
यसअघि म्यान्चेस्टर युनाइटेडमा रहेका रोनाल्डोले उक्त क्लब छाडेपछि नयाँ क्लबको खोजीमा रहेका थिए । युरोपियन क्लबबाट उचित प्रस्ताव नआएपछि रोनाल्डो अल नासर पुगेका हुन् ।
रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग सम्झौता गरेका हुन् । रोनाल्डोलाई यसअघि साउदीकै अर्को क्लब अल हिलालले पनि भित्र्याउने प्रयास गरेको भएपनि सफल हुन सकेको थिएन ।
अल नासर पुगेसँगै रोनाल्डोले अब एसियामा नयाँ यात्रा सुरु गर्न र नयाँ अनुभव बटुल्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

