प्रदेश १ मा मुख्यमन्त्री बन्छु भन्ने देउवाका प्रिय अर्याललाई २ मत

काठमाडौं, १५ पुस । नेपाली काङ्ग्रेस प्रदेश नम्बर १ को संसदीय दलमा देउवा पक्षका उम्मेदवारले जम्मा २ मत पाएपछि आठौं आश्चर्य भएको छ । जबकि उम्मेदवारलाई आफ्नो मत बाहेक समर्थक र प्रस्तावकले मात्रै मत दिँदा पनि ३ मत आउनुपर्ने हो ।

शुक्रबार भएको निर्वाचनमा मुख्यमन्त्रीका दाबेदार मानिएका पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र अमृतकुमार अर्यालले जम्मा २ मत पाउँदा काङ्ग्रेस नेता कृष्ण सिटौला पक्षका उद्धव थापाले १८ मत पाएर विजयी भए । त्यसैगरी शेखर कोइराला पक्षका केदार कार्कीले ९ मत पाएको निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले जानकारी दिए ।

प्रदेश नम्बर १ मा सभापति देउवा पक्षको १२ मत थियो । तर,देउवाकै उम्मेदवार अर्यालले २ मत मात्रै पाउनु आश्चर्य भयो । अर्यालको समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरुङ्ग र प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ्ग थिए । निर्वाचन परिणामपछि समर्थक र प्रस्तावककै मत नआएपछि संस्थापन पक्षका नेता तथा कार्यकर्ता अन्तर्घात भएको भन्दै आक्रोशित बनेका छन् ।

परिणामपछि अर्याल कुनै प्रतिक्रिया नदिई निर्वाचनस्थलबाट हिँडेका छन् । सत्ता समीकरण फेरिनुअघिसम्म प्रदेश १ मा संस्थापन पक्षका सांसदहरू बढी रहेको चर्चा थियो । २९ मध्ये १२ जना संस्थापन पक्षका सांसद देखिएका थिए । निर्वाचनमा विजयी भएका उद्धव थापाको पक्षमा ९ र कोइराला पक्षका केदार कार्कीको पक्षमा ८ सांसद रहेको हल्ला शुक्रबार बिहान सम्म थियो ।

दलको नेता बनेका थापालाई देउवाका विश्वास पात्रहरू ज्ञानेन्द्रबहादुर कार्की र रामेशजंग रायमाझी साथ दिएको चर्चा छ । यसैगरी संस्थापन पक्षका नेताका रूपमा चिनिएका प्रदेश १ का प्रभावशाली नेताहरू रामहरी खतिवडा र विजय गच्छदारले समेत सिटौला पक्षका थापालाई सहयोग गर्दा संस्थापन पक्षले लज्जास्पद हार व्यहोर्नुपरेको चर्चा पनि छ ।

अर्यालले गुमाएको १ मत पनि उनकै प्रस्तावक सुनिता गुरुङको हुनसक्ने अनुमान छ । उनी गच्छदारनिकट सांसद हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय