आहा रारा पोखरा गोल्डकपमा धरानको विजयी सुरुवात

पोखरा, १४ पुस । पोखरामा बिहिबारदेखि सुरु भएको मोफसलकै सर्वाधिक चर्चित आहा रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
धरानले आयोजक सहारा क्लबलाई १-० गोलअन्तरले हराएको हो । धरानको जीतमा प्रकाश बुढाथोकीले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो ।
प्रकाशले खेलको चौथो मिनेटमा नै फ्रिकिकमार्फत आकर्षक गोल गरेका थिए । त्यसपछि थप गोल नहुँदा आयोजक पहिलो खेलबाटै बाहिरियो ।
त्यसअघि प्रतियोगिताको समुद्घाटन समारोह आयोजन भएको थियो । प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए ।

