गैंडाकोटमा प्रिन्सिपलसहित तीन शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहार

नवलपुर, १२ पुस । नवलपुरको गैंडाकोटमा शिक्षकले यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । गैंडाकोट नगरपालिका–८ स्थित विजय आधारभूत विद्यालयका प्रिन्सिपलसहित तीन शिक्षकद्वारा शिक्षिका र विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।
आरोपित प्रध्यानाध्यापक कुष्ण सापकोटा, शिक्षक मदन भट्टराई र कुमार सापकोटालाई कडा कारबाहीको माग गर्दै विद्यार्थी तथा अभिभावकले इलाका प्रहरी कार्यालय गैंडाकोटमा प्रदर्शन गरेका हुन् ।
पिकनिक गएका बेला मादक पदार्थ सेवन गरेर छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको विद्यार्थीहरुले बताएका छन् । ‘कंकाली डाँडामा पिकिनिक थियो, सरहरुले रक्सी खानुभएको थियो । हामी भएको ठाउँमा आएर नराम्रो व्यवहार देखाउने गर्नुभयो’, ७ कक्षाकी एक छात्राले भनिन्, ‘घर फर्किने बेला बसमा झन् छाती समाउने संवेदनशील अंगमा छुनुभयो । म रुँदै केटा साथीहरुलाई सुनाएँ, हामीलाई जोगाउन खोज्दा उनीहरुले कुटाइ खाए ।’
विद्यार्थीका अनुसार ती शिक्षकले शिक्षिकालाई पनि दुर्व्यवहार गरेका छन् । बसमा भएको दुर्व्यवहारको भिडियो पनि रेकर्ड गरेको विद्यार्थीहरुले बताएका छन् ।
प्रहरीका अनुसार तीन जना आरोपित शिक्षकलाई अहिले नियन्त्रणमा लिइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

