नेपाल टी-२० लिग आजदेखि सुरु हुँदै

काठमाडौं, ९ पुस । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा नेपाल टी२० लिग क्रिकेट आजदेखि सुरु हुँदै छ । शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले सञ्चालन अधिकार पाएको यस फ्रेन्चाइज लिगमा ६ टोलीबीच प्रतिस्पर्धा हुने छ । तेस्रोपटक मिति सरेपछि अन्ततः प्रतियोगिता सुरु हुन लागेको हो ।
सबैभन्दा पहिला असोज ८ देखि गर्ने मिति तोकिएपनि अन्तिम समयमा सारेर मंसिर २६ देखि पुष १६ सम्म हुने बताइएको थियो । दोस्रो पटक सर्दा प्रतियोगिता पुस ८ देखि सुरु हुने बताइएकोमा आजदेखि हुने भएको हो ।
प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् ।

