नेपाल टी-२० लिग क्रिकेट शनिबारदेखि सुरु हुने

काठमाडौं, ८ पुस । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी२० लिग क्रिकेट सुरु हुने मिति एक दिन पछाडि सरेको छ । क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले गर्दा सरेर शनिबारदेखि सुरु हुने जनाएको हो ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले सञ्‍चालन अधिकार पाएको यस फ्रेन्चाइज लिगमा विदेशी खेलाडीको श्रम स्वीकृतिलगायत केहि व्यवस्थापकीय काम नसकिएका कारण एक दिन सार्नुपरेको जनाइएको छ ।

लिगको मिति सरेको यो तेस्रोपटक हो । सबैभन्दा पहिला असोज ८ देखि गर्ने मिति तोकिएपनि अन्तिम समयमा सारेर मंसिर २६ देखि पुष १६ सम्म हुने बताइएको थियो । दोस्रो पटक सर्दा प्रतियोगिता पुस ८ देखि सुरु हुने बताइएकोमा आज तेस्रोपटक मिति सार्दै पुस ९ गतेदेखि हुने भएको हो ।

प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् ।

क्यानले प्रतियोगिता निर्देशकमा क्यानका महाप्रबन्धक वृतान्त खनाललाई नियुक्त गरेको समेत जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय