प्रचण्डले किन गरे आफ्नै केन्द्रिय सदस्यलाई कारबाही ?

काठमाडौं, ५ पुस । नेकपा माओवादी केन्द्रको बैठकले पार्टी केन्द्रीय सदस्य बद्री बजगाईंलाई केन्द्रिय सदस्यबाट निलम्बन गरेको छ । आफ्नै पार्टी कर्याकर्ताले यौन दुर्व्यवहारको आरोप लगाएको उजुरी आएपछि बजगाईंलाई केन्द्रीय समितिबाट निलम्बन गरिएको हो ।
माओवादी मजदुर संगठनमा लामो समय काम गरेका बद्री गएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौ-३ बाट उम्मेदवार थिए । पछि उनलाई ब्याक गराएर गठबन्धनका उम्मेदवार काङ्ग्रेस नेता सन्तोष चालिसेलाई माओवादीले समर्थन गरेको थियो ।
बद्रीमाथि लागेको आरोपबारे छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको पार्टी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । बजगाईंले माओवादी केन्दकै भाृत संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई फेसबुक म्यासेन्जरमार्फत अश्लिल हर्कत गरेको भन्ने उजुरी छ ।

यद्यपि यसबारे पार्टीले थप बोलेको छैन । उजुरी पछि बद्री सम्पर्कमा नरहेको बुझिएको छ । उनिबारे पार्टीको जिल्ला,प्रदेश र केन्द्रमा उजुरी परेको तर प्रहरीमा उजुरी नपरेको बुझिएको छ । माओवादी पार्टीकै भ्रातृसंगठन अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला कमिटीमा रहेकी ती किशोरीले आफूमाथि दुव्यर्वहार भएको भन्दै संगठन र माओवादी केन्द्रको तल्ला कमिटीमा निवेदन दिएको बुझिएको छ ।
माओवादी केन्द्रको पदाधिकारीको बैठकले गरेको ४ निर्णय मध्य बजगाईंलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको भन्ने निर्णय पनि संलग्न छ ।
‘पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंको विषयमा पार्टीकै भातृ संगठन अखिल क्रान्तिकारीमा कार्यरत एकजना महिला कमरेडको निवेदन र अश्लिल म्यासेजहरुको प्रतिलिपीसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा बजगाईंलाई केन्द्रीय समितिबाट निलम्बन गरिएको छ,’ माओवादीको गोप्य परिपत्रमा भनिएको छ, ‘त्यस सम्बन्धमा सत्य तथ्य बुझी आवश्यक छानविन गरी १० दिनभित्र लिखित प्रतिवेदन पेश गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको छ ।’

