बिग ब्यास लिगमा पर्थमाथि होबार्टको रोमाञ्चक जीत

काठमाडौं, ४ पुस । अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटअन्तर्गत सोमबार भएको खेलमा होबार्ट हुरिकेन्सले रोमाञ्चक जीत निकालेको छ । होबार्टले पर्थ स्कोर्चर्सलाई ८ रनले हराएको हो ।
होबार्टले दिएको १७३ रनको लक्ष्य पछ्याएको पर्थले पूरा २० ओभर खेल्दै ८ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो । तल्लोक्रमका ब्याटरबाट सोचेअनुरुप प्रदर्शन हुन नसक्दा पर्थ पराजित हुन पुग्यो ।
जोश इंग्लिसले ६२ रन बनाएपनि टोलीको जीतको लागि पर्याप्त हुन सकेन । फाफ डुप्लेसीले ३२ रन बनाए । होबार्टका प्याट्रिक डूलीले ४ विकेट लिए भने राइली मेरेडिथले २ विकेट लिँदा शादाब खान र नेथन एलिसले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो । कप्तान म्याथ्यू वेडले ५१ रनको योगदान दिए भने टिम डेभिड ४६ रनमा अविजित रहे ।
पर्थका झाय रिचार्डसनले ३ विकेट लिँदा एन्ड्रयु टाइ र आरोन हार्डीले २-२ र जेसन बेहरनडर्फले १ विकेट लिए ।

