मेस्सीलाई गोल्डेन बल, मार्टिनेज सर्वोत्कृष्ट गोलरक्षक

काठमाडौं, ४ पुस । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतारमा सम्पन्न विश्वकप फुटबल २०२२ को गोल्डेन बल जितेका छन् । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडि घोषित भएर मेस्सीले गोल्डेन बल अवार्ड प्राप्त गरेका हुन् ।
मेस्सीले पहिलोपटक विश्वकपको उपाधि जित्ने क्रममा प्रतियोगितामा शानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनालाई उपाधि दिलाउन अग्रणी भूमिका खेलेका उनले ७ गोल र ३ एसिस्ट प्रदान गरेका थिए ।
गएराति सम्पन्न फाइनलमा उनले दुई गोल गरेका थिए । फ्रान्सका किलियन एमबाप्पेले सिल्भर बल प्राप्त गर्दा क्रोएसियाका लुका मोड्रिचले ब्रोन्ज बल पाए । एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि हासिल गरेका थिए ।

त्यसैगरी अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले सर्वोत्कृष्ट गोलरक्षकको अवार्ड गोल्डेन ग्लोभ जितेका छन् । प्रतियोगिताभर शानदार प्रदर्शन गरेका उनले पहिलो विश्वकप सहभागितामै यस अवार्ड जिते ।
मार्टिनेजले ७ खेलमा ३ क्लिन सिट राखेका थिए भने क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्ध टाइब्रेकरमा पनि विपक्षी प्रहार विफल पार्दै महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

