विश्वकप फुटबलको उपाधि भिडन्त आज, अर्जेन्टिना र फ्रान्स भिड्दै

काठमाडौं, ३ पुस । कतारमा जारी फिफा विश्वकप फुटबलको समापन आज हुँदै छ । विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै छन् । खेल राति पौने ९ बजेदेखि लुसेल स्टेडियममा सुरु हुने छ ।
अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदा साविक विजेता फ्रान्सले मोरक्कोलाई २-० गोलअन्तरले हराएर उपाधि भिडन्त पक्का गरेका थिए ।
हालसम्म दुवै टोलीले दुई-दुईपटक विश्वकप फुटबलको उपाधि जितेका छन् । फ्रान्स त साविक विजेता नै हो, त्यसअघि फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो ।
सन् २०१८ को विश्वकप फुटबलको अन्तिम १६ मा अर्जेन्टिना फ्रान्ससँग ४-३ गोलअन्तरले पराजित हुँदै बाहिरिएको थियो । फ्रान्सले त्यसपछि उपाधि नै जितेको थियो ।
अर्जेन्टिनाका कप्तान एवम् सर्वकालीन महान खेलाडी लियोनल मेस्सीले यस विश्वकप आफ्नो अन्तिम रहेको बताइसकेका छन् अर्थात् आइतबार रातिको खेल उनको अन्तर्राष्ट्रिय खेल जीवनकै अन्तिम खेल हुने लगभग निश्चित छ ।
यो पनि पढ्नुहोस्:
विश्वकप फाइनल भिडन्त: एमबाप्पेको गतिसामू मेस्सीको जादुमय उपस्थिति
साविक विजेता फ्रान्स लगातार दोस्रोपटक उपाधि जितेर समग्रमा तेस्रोपटक विश्वकपको उपाधि उचाल्न चाहन्छ । युवा फरवार्ड किलियन एमबाप्पेको भूमिका फ्रान्सका लागि महत्वपूर्ण रहनेछ ।
सन्यासको संघारमा रहेका मेस्सीले टोलीलाई उपाधि जिताएर अविस्मरणिय विश्वकपको सुखद अन्त्य गर्न चाहनेछन् भने एमबाप्पे २३ वर्षको उमेरमै दुई विश्वकप जितेर अर्को सनसनी मच्चाउन आतुर छन् ।

