विश्वकप फुटबल: मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

काठमाडौं, २ पुस । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । शनिबार भएको खेलमा मोरक्कोलाई २-१ गोलअन्तरले हराउँदै क्रोएसिया तेस्रो बनेको हो ।
क्रोएसियाको जीतमा जोस्को भार्डिओल र मिस्लाभ ओरसिचले एक-एक गोल गरे । मोरक्कोका अचरफ दारीले एक गोल गरे । सबै गोल पहिलो हाफमा भएका थिए ।
खेलको सातौं मिनेटमा नै भार्डीओलको गोलमार्फत क्रोएसियाले खेलमा अग्रता लिएको थियो । त्यसको दुई मिनेटमै मोरक्कोका लागि दारीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
४२औं मिनेटमा ओरसिचले गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल भएनन् र क्रोएसिया २-१ को जीतसहित तेस्रो बन्दा मोरक्कोले सान्त्वना स्थान हासिल गर्यो ।
विश्वकपको उपाधिका लागि भोलि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने छ ।

