प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्- पुन: निर्वाचन र मतगणना हुँदैन

मोरङ, २ पुस । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि क्षेत्रमा पुनः निर्वाचन र पुन मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
प्रदेशसभा १ को सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा थपलियाले यस्तो बताएका हुन् । सबै क्षेत्रमा निष्पक्ष रुपमा निर्वाचन सम्पन्न भएको दाबी गर्दै उनले पुनः मतगणना र पुनः मतदान गर्नु नपर्ने बताए ।
‘आयोगले गरेको कुनैपनि निर्णयमाथि पुनरावेदन लाग्छ, अदालतबाट भएको आदेश पालना गर्न आयोग प्रतिवद्ध छ’, उनले भने,‘ आजका मितिमा यो निर्वाचनमा कहीँ पनि एउटा मतदान अधिकृतले आफ्नो स्वार्थ सिद्धिका लागि कुनै काम गरेका छैनन्, कुनै सुरक्षाकर्मी चुकेको छैन र कहीँ पनि पुनः मतदान गर्नुपर्ने वा फेरि मतगणना गर्नुपर्ने अवस्था सिर्जना भएको छैन ।’
थपलियाले मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका छन् ।

