क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्‍वकप फुटबलको फाइनलमा

काठमाडौं, २८ मंसिर । उपाधिको दाबेदार टोली अर्जेन्टिना कतारमा जारी फिफा विश्‍वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदै अर्जेन्टिना उपाधिनजिक पुगेको हो ।

अर्जेन्टिनाको जीतमा जुलियन अल्भारेजले २ गोल गर्दा लियोनल मेस्सीले एक गोल गरेका थिए । पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल भएका थिए ।

खेलको ३६औं‌ मिनेटमा पेनाल्टीमार्फत मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जुलियन अल्भारेजलाई बक्समा लडाएपछि अर्जेन्टिनाले‌ पेनाल्टी पाएको थियो ।

त्यसको ३ मिनेटमै अल्भारेजले सेन्टरबाट एक्लै बल लगेर शानदार गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । पहिलो हाफमा अर्जेन्टिना २-० ले अगाडि रह्यो ।

दोस्रो हाफको ६९औं मिनेटमा मेस्सीको पासमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको ३-० को जीत सुनिश्चित गरे । बल‌ पोसेसनमा पकड जमाएपनि क्रोएसियाले फिनिसिङ‌ भने गर्न सकेन ।

अर्जेन्टिनाले‌ अब उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय