विश्‍वकप फुटबल: फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं, २७ मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत सेमिफाइनलका खेलहरु आज र भोलि हुँदै छन् । पहिलो सेमिफाइनलमा आज उपाधि दाबेदार अर्जेन्टिना र क्रोएसिया भिड्दै छन् । खेल राति पौने १ बजेदेखि सुरु हुनेछ ।

अर्जेन्टिनाले क्‍वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो भने क्रोएसियाले ब्राजिलको चूनौति पन्छाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

यी दुई टोलीबीच पछिल्लोपटक सन् २०१८ को विश्‍वकप फुटबलको समूह चरणमा भेट भएको थियो जसमा क्रोएसिया ३-० ले विजयी भएको थियो ।

यसपटक अर्जेन्टिनाको टोली २०१८ भन्दा बलियो रहेको छ । विश्‍वकपका दाबेदार मानिएका केही टोलीहरु बाहिरिसकेका छन् । लियोनल मेस्सीका समर्थक सन्यासअघि विश्‍वकप जिताएको हेर्न चाहन्छन् ।

उता क्रोएसियाले पनि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ र यसपटक पनि अर्जेन्टिनालाई रोक्दै लगातार दोस्रोपटक फाइनलमा पुग्‍ने दाउमा हुने छ ।

क्रोएसिया २०१८ को विश्‍वकपको उपविजेता टोली हो । फाइनलमा फ्रान्ससँग ४-२ ले पराजित हुँदै क्रोएसिया उपविजेतामा सीमित भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय