केनले दोस्रो पेनाल्टी मिस गर्दा इंग्ल्यान्ड बाहिरियो, फ्रान्स सेमिफाइनलमा

काठमाडौं, २५ मंसिर । डिफेन्डिङ च्याम्पियन फ्रान्स कतारमा जारी फिफा विश्‍वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम क्‍वाटरफाइनल खेलमा इंग्ल्यान्डलाई २-१ ले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो ।

फ्रान्सको जीतमा अरिलियन चुआमेनी र ओलिभर जिरुडले एक-एक गोल गर्दा इंग्ल्यान्डका ह्‍यारी केनले गरेको गोल सान्त्वना बन्यो । केनले अर्को पेनाल्टी मिस गर्दा बराबरी गर्नबाट इंग्ल्यान्ड चुक्यो ।

खेलको १७औं मिनेटमा चुआमेनीको गोलमा फ्रान्सले अग्रता लिएको थियो । चुआमेनीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

५४औं मिनेटमा इंग्ल्यान्ड पेनाल्टीमार्फत खेलमा फर्कियो । केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

७८ औं मिनेटमा फ्रान्सले पुन: अग्रता लियो । जिरुडले हेडरमार्फत गोल गर्दै साविक विजेतालाई अघि बढाए । ८४औं मिनेटमा प्राप्त पेनाल्टी केनले मिस गर्दा इंग्ल्यान्डले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो ।

फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय