पोर्चुगललाई स्तब्ध पार्दै मोरक्को विश्‍वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं, २५ मंसिर । अफ्रिकन राष्ट्र मोरक्को विश्‍वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इतिहास रच्‍ने काम जारी राख्दा मोरक्कोले बलियो यूरोपियन टोली पोर्चुगललाई १-० ले स्तब्ध बनायो ।

बल पोसेसनमा पकड जमाएको भएपनि पोर्चुगलले गोल गर्ने अवसरहरुमा सही सदुपयोग हुन सकेन । मोरक्कोको जीतमा युसेफ एन नेसरीले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो ।

पहिलो हाफको ४२औं मिनेटमा एन नेसरीले हेडरमार्फत गोल गर्दै मोरक्कोलाई अघि बढाएका थिए । उनले अतिया अल्लाको क्रस बललाई हेडरमार्फत जाली चुमाएका थिए ।

त्यसपछि पोर्चुगलले खेलमा फर्कने प्रयास गरेपनि गोल भने गर्न नसक्दा क्‍वाटरफाइनलबाटै घर फर्कन बाध्य भयो । मोरक्को भने इतिहास रच्‍न सफल भयो ।

मोरक्को विश्‍वकप फुटबलको सेमिफाइनलमा पुग्‍ने पहिलो अफ्रिकन राष्ट्र बन्दै इतिहासमा नाम लेखाएको हो । मोरक्कोले फाइनल प्रवेशका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय