अर्जेन्टिना विश्‍वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं, २४ मंसिर । अर्जेन्टिना कतारमा जारी फिफा विश्‍वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार मध्यराति सम्पन्‍न क्‍वाटरफाइनल खेलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ४-३ ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेट र इन्जुरी समयमा २-२ को बराबरी भएपछि थप गरिएको ३० मिनेटमा पनि थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले नेदरल्यान्ड्सका सुरुवाती दुई प्रहार बचाएका थिए ।

अर्जेन्टिनाका लियोनल मेस्सी, लियान्द्रो पारेडेस, गोन्जालो मोन्टियाल र लाउतारो मार्टिनेजले गोल गर्दा एन्जो फर्नान्डेसको प्रहार बाहिरियो । नेदरल्यान्ड्सका भर्जिल भान डाइक र स्टेभेन बर्गुइसको प्रहार मार्टिनेजले रोक्दा कूपमाइनर्स, वेस्ट वेघोर्स्ट र लुक डे जोङको प्रहार गोल भए ।

त्यसअघि लुसेल स्टेडियममा खेलको ३५औं मिनेटमा कप्तान मेस्सीको पासमा मोलिनाले गोल गर्दै पहिलो हाफमा अर्जेन्टिनालाई १-० को अग्रता दिलाएका थिए । उनले राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका हुन् ।

दोस्रो हाफको ७३औं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ८३औं मिनेटमा वेघोर्स्टले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । इन्जुरी समयको १०औं मिनेटमा वेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियको सामना गर्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय