पाँचपटकको च्याम्पियन ब्राजिल बाहिरियो, क्रोएसिया सेमिफाइनलमा

काठमाडौं, २४ मंसिर । पाँचपटकको विश्वविजेता टोली ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलबाटै बाहिरिएको छ । शुक्रबार राति भएको खेलमा ब्राजिल क्रोएसियासँग टाइब्रेकरमस पराजित भएको हो ।

क्रोएसियाले टाइब्रेकरमा ब्राजिललाई ४-२ ले हरायो । थपिएको अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि टाइब्रेकरमा धकेलिएको खेलमा ब्राजिलको एक प्रहार क्रोएसियन गोलरक्षक लिभाकोभिचले रोकेका थिए भने एक प्रहार पोलमा लागेको थियो ।

क्रोएसियाका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोड्रिच र मिस्लाभ ओरसिचले गोल गरे । ब्राजिलका रोड्रिगोको प्रहार लिभाकोभिचले रोक्दा पेड्रो र कासेमिरोले गोल गरे । मार्किनहोसले निर्णायक पेनाल्टी पोलमा लागेपछि ब्राजिल बाहिरिएको हो ।

त्यसअघि निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेल १-१ को बराबरीमा सकिएको थियो । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको ११७औं मिनेटमा ब्रुनो पेटकोभिचले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

क्रोएसियाले अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय