साविक विजेता फ्रान्स विश्‍वकप फुटबलको क्‍वाटरफाइनलमा

काठमाडौं, १८ मंसिर । डिफेन्डिङ च्याम्पियन फ्रान्स कतारमा जारी फिफा विश्‍वकप फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको प्रि-क्वाटरफाइनलको खेलमा पोल्यान्डलाई ३-१ गोलअन्तरले हराउँदै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो ।

फ्रान्सको जीतमा किलियन एमबाप्पेले दुई गोल गर्दा ओलिभर जिरुडले एक गोल गरेका थिए । पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले सान्त्वना गोल फर्काए ।

खेलको ४४औं मिनेटमा जिरुडले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । एमबाप्पेको दिएको ‘थ्रु’ बलमा जिरुडले गोल गरेपछि पहिलो हाफमा १-० ले फ्रान्स अगाडि रह्‍यो ।

दोस्रो हाफको ७४औं मिनेटमा ओस्मान डेम्बेलेको एसिस्टमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । इन्जुरी समयको पहिलो मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० ले अगाडि राखे ।

इन्जुरी समयको आठौं मिनेटमा भिएआरमार्फत प्राप्त पेनाल्टीमा लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई सान्त्वना गोल दिलाए । त्यसपछि थप गोल भएनन् र फ्रान्स ३-१ ले विजयी भयो ।

यस खेलमा गोल गरेका जिरुडले फ्रान्सको सर्वाधिक गोलकर्ता बन्दै कीर्तिमान बनाएका छन् । उनले पूर्वखेलाडी थिएरी हेनरीलाई पछि पार्दै कीर्तिमान बनाएका हुन् । जिरुडले ५२ गोल गरेका छन् भने हेनरीको नाममा ५१ गोल रहेको छ ।

फ्रान्सले अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय