जनताको चाहना स्थिर सरकार र विकास हो: सांसद खतिवडा
परेवान्युज
काठमाडौं, १८ मंसिर । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभामा ओखलढुंगाबाट नव-निर्बाचित सांसद रामहरि खतिवडाले अब नेपाली काङ्ग्रेसमा अग्रजको सम्मान र युवालाई अवसर दिनुपर्ने बेला आएको बताएका छन् ।
नेपाली काङ्ग्रेस पार्टी भित्रैपनि प्रधानमन्त्रीमा युवाको बहस चलिरहेको बेला सांसद खतिवडाले अग्रज नेताको अपमान नहुनेगरी व्यवस्थापन र पार्टीलाई पनि सशक्त ढंगले अगाडि बढाउने नेतृत्वको खाचो औंल्याएका हुन् । यद्यपि उनले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको विकल्प पार्टीभित्र मात्रै खोजेर पार नलाग्ने भन्दै गठबन्धनले चाहेको व्यक्ति नै अबको प्रधानमन्त्री बन्ने बताए ।
सांसद खतिवडाले प्रधानमन्त्री वा मन्त्री को बन्ने भन्दा पनि देशको हितमा के गर्ने भन्ने विषय नै अहिलेको आवश्यकता भएको औंल्याए । ‘यो बेला देशलाई स्थिर सरकारसंगै समृद्धि र विकास चाहिएको छ’- खतिवडाले भने- ‘कसले काम गर्यो र कसले हावादारी कुरा मात्रै गर्यो जनताले देखिसके ।’
नेपाली काङ्ग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर-६ अरुणिमा समावेशी टोल इकाईले गरेको बधाई एवं सम्मान कार्यक्रममा बोल्दै खतिवडाले व्यक्तिले सिङ्गो पार्टी र पार्टीले देशको हितमा सोच्नुपर्ने पनि बताए । ‘अहिले कुनै ब्यक्ति वा पार्टी मात्रै भनेर सोच्ने बेला होइन,जनताको इच्छा र देशको आवस्यकता बुझेर अघि बढ्ने बेला हो’, उनले भने- ‘फेरि पनि सरकार गठनमा मात्रै दल भित्र र बाहिर झगडा गरेरै बस्ने हो भने जनताको नजरमा राम्रो पर्दैन ।’
सांसद खतिवडाले राजनीतिक पार्टीमा नीति भन्दा नेतालाई पुज्ने र नेता भन्दा दाता(चन्दादाता)लाई मात्रै मान्ने प्रवृत्ति सबै दलभित्र रहेको भन्दै नातावाद र कृपावादलाई भन्दा जनताको इच्छा र आकङ्क्षालाई बुझेर अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाली काङ्ग्रेस अरुणिमा समावेशी टोल समितिका सभापति ईश्वर बस्नेत, सचिव राम कार्की, सल्लाहकार राजनकुमार पोखरेल, रोहित दाहाल, चण्डी पोखरेल, बलराम पन्त लगायतले सांसद खतिवडालाई खादा र माला लगाएर सम्मान एवं बधाई दिएका थिए ।
थप तस्वीरहरु:






