विश्‍वकप फुटबलको नकआउट समीकरण पूरा

काठमाडौं, १७ मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलमा गएरातिदेखि समूह चरणका खेलहरु सकिएका छन् । योसँगै नकआउट चरणमा पुग्‍ने १६ वटै टोलीको टुङ्गो लागेको छ ।

समूह ए बाट नेदरल्यान्ड्स ७ अंकसहित समूह विजेता बन्दा  सेनेगल ६ अंक जोड्दै समूह उपविजेताको रुपमा अघि बढ्यो । समूह बी मा इंग्ल्यान्ड ७ अंकका साथ शीर्षस्थानमा रह्यो भने अमेरिकाले ३ खेलमा ५ अंक जोड्दै उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गर्‍यो ।

समूह सी मा अर्जेन्टिना समूह विजेता बन्दा पोल्यान्ड उपविजेता बन्यो । पहिलो खेल हारेपनि अर्जेन्टिनाले पछिल्ला दुई खेल जित्दै ६ अंक जोड्यो । पोल्यान्ड र मेक्सिकोको समान ४-४ अंक भएपनि गोलअन्तरका आधारमा पोल्यान्ड अघि बढ्दा अर्जेन्टिनालाई हराएको साउदी अरेबिया ३ अंकसहित पुछारमा सीमित रह्‍यो ।

समूह डी मा फ्रान्स ६ अंक जोडेर समूहविजेता बन्दा अस्ट्रेलिया पनि ६ अंकका साथ गोलअन्तरमा पछाडि रहेर समूह उपविजेता बन्दै नकआउट चरणमा अघि बढ्यो । समूह ई मा जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ भने स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो ।

समूह एफ मा मोरक्कोले ७ अंक जोड्दै शीर्षस्थान हासिल गर्दा क्रोएसिया ५ अंकका साथ दोस्रो भयो । समूह जी मा ब्राजिल ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रहयो । स्वीटजरल्यान्ड ६ अंकका गोलअन्तरमा पछाडि पर्दै समूह उपविजेता बन्यो ।

समूह एचमा पोर्चुगल ६ अंकसहित समूहविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्‍यो । कोरिया र उरुग्वे ३ खेलमा ४-४ अंक र समान गोलअन्तर भएपनि बढी गोल गरेको आधारमा कोरिया अघि बढ्यो ।

अन्तिम १६ मा कोको भिड्दै छन् ?

अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकाको सामना गर्दा अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्ने छ । त्यसैगरी जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया एकआपसमा आमनेसामने हुने छन् ।

इंग्ल्यान्डले सेनेगल तथा फ्रान्सले पोल्यान्डसँग क्‍वाटरफाइनल प्रवेशका लागि खेल्ने छन् । स्पेन र मौरक्को तथा पोर्चुगलले स्वीट्जरल्यान्डको सामना गर्ने छ ।

अन्तिम १६ का खेलहरु आजैदेखि सुरु हुँदै छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय