सर्बियालाई हराउँदै स्वीट्जरल्यान्ड नकआउट चरणमा प्रवेश

काठमाडौं, १७ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा सर्बियामाथि रोमाञ्चक जीत निकाल्दै स्वीट्जरल्यान्ड अघि बढेको छ । स्वीट्जरल्यान्डले सर्बियालाई ३-२ गोलअन्तरले हराएको हो ।
स्वीट्जरल्यान्डको जीतमा जेर्डन शाकिरी, ब्रील इम्बोलो र रेमो फ्रयुलरले १-१ गोल गरे । सर्बियाका अलेक्सेन्डर मिट्रभिच र दुसान भ्लाहोभिचले १-१ गोल गरे ।
२०औं मिनेटमा स्वीट्जरल्यान्डले शाकिरीको गोलमा अग्रता लिएको थियो । २७औं मिनेटमा मिट्रोभिचले गोल गर्दै खेल बराबरीमा ल्याए ।
३५औं मिनेटमा भ्लाहोभिचले गोल गरेपछि सर्बियाले खेलमा अग्रता लियो । पहिलो हाफ सकिनुअघि ४४औं मिनेटमा इम्बोलोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफको सुरुवातमै स्वीट्जरल्यान्डले सुन्दर पास लैजाँदै गोल गर्यो । फ्र्युलरले गोल गर्दै स्वीट्जरल्यान्डलाई खेलमा अगाडि ल्याए । त्यसपछि कुनै गोल निस्कन सकेन र स्वीट्जरल्यान्ड अघि बढ्यो ।

