ब्राजिललाई हराएपनि क्यामरुन अघि बढ्न सकेन

काठमाडौं, १७ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यामरुनले ब्राजिललाई हराएको छ । क्यामरुनले ब्राजिलमाथि १ ० को जीत निकालेपनि अघिल्लो चरणमा प्रवेश गर्न भने सकेन ।
अन्तिम १६ मा स्थान पक्का भइसकेकाले ब्राजिलले मुख्य खेलाडीलाई आराम दिएको थियो । दबाबमा राखेपनि ब्राजिलले गोल भने गर्न सकेन ।
खेलको इन्ज्युरी समयमा कप्तान भिन्सेन्ट अबुबकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । गोल गरेपछि जर्सी खोलेर खुसी मनाएका अबुबकार दोहोरो पहेंलो कार्डसहित रातो कार्ड खाँदै बाहिरिएका थिए ।
अर्को खेलमा सर्बियालाई स्वीट्जरल्यान्डले हराएसँगै क्यामरुनको जीतले पनि उसलाई अघि बढ्न मद्दत गरेन । ब्राजिल भने हारका बाबजुद समूह विजेता बनेको छ ।
ब्राजिल ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रहयो । समान ६ अंक भएपनि स्वीटजरल्यान्ड गोलअन्तरमा पछि पर्दै समूह उपविजेता बन्यो ।

