विश्‍वकपको रोमाञ्‍च: दक्षिण कोरियाले पोर्चुगललाई हराउँदा उरुग्वे बाहिरियो

काठमाडौं, १६ मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत समूह एच का अन्तिम खेलहरु पनि रोमाञ्‍चक बने । दक्षिण कोरियाले पोर्चुगलमाथि रोमाञ्‍चक जीत निकाल्दा उरुग्वे भने जीतका बाबजुद पनि बाहिरिएको छ ।

दक्षिण कोरियाले पोर्चुगललाई २-१ गोलअन्तरले हरायो । दक्षि कोरियाको जीतमा किम योङ गोन र ह्‍वाङ हिच्यानले १-१ गोल गरे । पोर्चुगलका रिकार्डो होर्टाले गरेको गोल सान्त्वना बन्यो ।

खेलको पाँचौं मिनेटमा नै होर्टाको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । २७औं मिनेटमा योङ गोनले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको इन्जुरी समयमा हिच्यानले गोल गर्दै दक्षिण कोरियालाई अत्यावश्यक जीत दिलाए ।

यस खेलमा १ १ को बराबरी भइरहेका बेला अर्को खेलमा उरुग्वेले पनि २-० को अग्रता लिइरहेको थियो र दुवैतर्फ यही नतिजा कायम रहँदा उरुग्वे छनौट हुने थियो । तर कोरियाले अन्तिम समयमा गोल गरेपछि उरुग्वे बाहिरिने लगभग निश्चित बनेको थियो ।

उरुग्वेले घानालाई २-० ले पराजित गर्‍यो । उरुग्वेका लागि दुवै गोल जर्जियन डे आरासेटाले गरेका थिए । उनले २६औं र ३२औं मिनेटमा गोल गरेका थिए ।

यस समूहबाट पोर्चुगल ६ अंकसहित समूहविजेता बन्यो भने दक्षिण कोरिया ४ अंक जोडेर उपविजेता बन्यो । समान ४ अंक भएपनि उरुग्वे गोल संख्यामा पछाडि पर्यो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय