धनगढी तनाव: चालकविरुद्ध किटानी जाहेरीपछि साउदका आफन्तले शव बुझे

कैलाली, १६ मंसिर । धनगढीमा ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको शव परिवारले बुझेको छ । बालिकालाई ठक्कर दिने ग्रेडरका चालकविरूद्व प्रहरीले किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन् ।

ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका-२८ का २७ वर्षीय बिकल कुमालविरुद्ध जाहेरी दर्ता भएको हो ।

बैतडीको डिलासैनी गाउँपालिका-६ की बालिका साउदलाई बिहीबार बिहान विद्यालय जाने बेला धनगढी उपमहानगरपालिका- ५ मा ग्रेडरले ठक्कर दिदा उनकाे घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्करबाट घाइते भएकी साउदलाई चालकले ग्रेडर ब्याक गरेर मारेको भन्दै विद्यार्थी र स्थानीयले विराेध प्रदर्शन गरेपछि प्रहरीले शव उठाउन सकेको थिएन । साँझ घटनास्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्दै शव उठाइएको थियो।

प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेकै अवस्थामा शुक्रबार बिहानैदेखि धनगढीमा विद्यार्थी र स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ३७ सेल अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनमा उत्रिएका २१ जना विद्यार्थीसहित केही स्थानीयलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरूलाई रिहाइ गर्न माग गर्दै धनगढीमा अहिले पनि प्रदर्शन जारी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय