जीतका बाबजुद जर्मनी विश्‍वकपबाट बाहिरियो

काठमाडौं, १६ मंसिर । जर्मनी लगातार दोस्रोपटक विश्‍वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा कोस्टा रिकालाई हराएपनि अन्य खेलमा अनुकुल नतिजा नआउँदा जर्मनी बाहिरिएको हो ।

गएरातिको समूह चरणको अन्तिम खेलमा जर्मनीले कोस्टा रिकालाई ४-२ गोलअन्तरले हरायो । जर्मनीको जीतमा काइ हाभेर्ट्सजले दुई गोल गरे भने सर्जे जिनाब्री र निक्लास फुलक्रुगले १-१ गोल गरे । कोस्टा रिकाका यत्सिन तेजेदाले १ गोल गर्दा एक गोल आत्मघाती भएको थियो ।

खेलको १०औं मिनेटमा जिनाब्रीले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को मात्र अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा तीन गोल थप्यो तर त्योभन्दा अगाडि कोस्टारिकाले अग्रता लिएको थियो ।

५८औं मिनेटमा तेजेदाले गोल गरेर खेल बराबरीमा ल्याउँदा ७०औं मिनेटमा पोस्टनजिकै घम्साघम्सीको समयमा जर्मनीका गोलरक्षक मानुएल नियोरबाट आत्मघाती गोल हुन पुग्यो र कोस्टारिका खेलमा अगाडि आयो ।

त्यसको तीन मिनेटमै हाभेर्टजले गोल गर्दै खेल पुनः २२ को बराबरीमा ल्याए । ८५औं मिनेटमा हाभेर्ट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई अगाडि ल्याउँदा ८९औं मिनेटमा फुलक्रुगले गोल गर्दै जर्मनीको ४-२ को जीत पक्का गरे ।

जीतका बाबजुद जर्मनी नकआउट चरणमा भने पुग्न सकेन । अर्को खेलमा जापानले स्पेनलाई हराएसँगै जर्मनी समूह इ मा तेस्रो स्थानमा सीमित भयो । ३ खेलमा ४ अंक भएको जर्मनी गोलअन्तरका आधारमा स्पेनभन्दा पछाडि पर्‍यो ।

जर्मनीलाई कोस्टारिकाले हराएको खण्डमा जापानले पनि सोही निकालेको भए कोस्टारिका अघि बढ्ने थियो । यसअघिको विश्‍वकपमा पनि जर्मनी महत्वपूर्ण खेलमा दक्षिण कोरियासँग २-० ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय