अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा, पराजित पोल्यान्ड पनि अघि बढ्यो
जीतका बाबजुद मेक्सिको बाहिरियो
काठमाडौं, १५ मंसिर । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अगाडि बढेको हो । हारका बाबजुद पोल्यान्ड पनि उपविजेता बन्दै अगाडि बढेको छ ।
समूह सी को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० गोलअन्तरले हरायो । अर्जेन्टिनाको जीतमा एलेक्सिस माक एलिस्टर र जुलियन अल्भारेजले १-१ गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।
दोस्रो हाफको सुरुवाती मिनेटमै माक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० ले अगाडि ल्याए । त्यसपछि थप गोल भएनन् र अर्जेन्टिना ३ अंक जोड्दै ३ खेलमा ६ अंक बनाएर समूह विजेता बन्यो ।
पराजित पोल्यान्ड ४ अंकसहित दोस्रोमा रह्यो भने गोलअन्तरका आधारमा मेक्सिकोभन्दा अगाडि रहेर अघिल्लो चरणका लागि छनौट भयो । मेक्सिकोले भने साउदी अरेबियालाई पराजित गरेपनि अगाडि बढ्न सकेन ।

