नेदरल्यान्ड्स र सेनेगल विश्‍वकप फुटबलको अन्तिम १६ मा

काठमाडौं, १४ मंसिर । नेदरल्यान्ड्स र सेनेगल कतारमा जारी फिफा विश्‍वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएको खेलमा नेदरल्यान्ड्सले कतार र सेनेगलले इक्‍वेडरलाई हराएसँगै नकआउट चरणको यात्रा तय गरेका हुन् ।

नेदरल्यान्ड्सले कतारलाई २-० ले पराजित गर्दा सेनेगलले इक्‍वेडरलाई २-१ ले हरायो । नेदरल्यान्ड्स समूहविजेता तथा सेनेगल उपविजेता बन्दै अगाडि बढे ।

नेदरल्यान्ड्सको जीतमा कोडी गाक्पो र फ्रेन्की डे जोङले १-१ गोल गरे । गाक्पोले खेलको २६औं मिनेटमा गोल गरेका थिए भने डे जोङले ४९औं मिनेटमा गोल गर्दै टोलीको जीत पक्का गरे ।

त्यसैगरी सेनेगलका लागि इस्माइला सार र कालिदोउ कूलीबालीले १-१ गोल गरे । इक्‍वेडरका मोइसेस काइसेडोले गरेको गोल सान्त्वना बन्यो ।

खेलको ४४औं मिनेटमा पेनाल्टीमार्फत सारले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६७औं मिनेटमा काइसेडोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसको तीन मिनेटमै कुलीबालीले गोल फर्काएपछि सेनेगल पुन: अगाडि आयो । त्यसपछि थप गोल निस्कन सकेन र सेनेगल २-१ को जीत निकाल्दै अघि बढ्न सफल भयो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय