थापाथलीको सुकुम्बासी बस्तीमा आज पनि तनाव, बालेनको पुत्ला जलाइयो

काठमाडौं, १३ मंसिर । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती काठमाडौं महानगरले बल प्रयोग गरेर हटाउन खोजेपछि आज पनि सो क्षेत्र तनावग्रस्त रहेको छ ।
सुकुम्बासी बस्तीका स्थानीयहरुले महानगरका मेयर बालेन शाहको पुत्ला समेत जलाएका छन् । उनीहरुले शव राख्ने बाकसमाथि बालेनको फोटो राखेर जलाएका हुन् ।
मेयर बालेन विरुद्ध नाराबाजी पनि भइरहेको छ भने केही सुकुम्वासी माइतीघर मण्डलामा सडकमै ब्यानर राखेर अनसनमा समेत बसेका छन् ।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो ।
सोहीअनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र अशान्त रहेको छ । यो क्षेत्रमा करिब ५ हजार सुकुम्वासीको जनसंख्या रहेको अनुमान छ ।

