ब्राजिल र पोर्चुगल विश्‍वकप फुटबलको अन्तिम १६ मा प्रवेश

काठमाडौं, १२ मंसिर । विश्‍वकपका दाबेदार टोली पोर्चुगल र ब्राजिल कतारमा जारी विश्‍वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । सोमबार राति भएका खेलमा ब्राजिलले स्वीट्जरल्यान्ड तथा पोर्चुगलले उरुग्वेलाई हराउँदै अगाडि बढ्ने पक्का गरेका हुन् ।

समूह जी को खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १-० गोलअन्तरले हरायो । ब्राजिलको जीतमा क्यासेमिरोले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । उनले डिबक्सभित्रबाट गरेको प्रहार स्वीस गोलकिपर यान सोमरले बचाउने मौकै पाएनन् ।

यस जीतसँगै समूह जी मा २ खेलमा ६ अंकसहित ब्राजिल शीर्षमा छ र अगाडि बढ्ने पक्का गरेको छ । स्वीट्जरल्यान्ड २ खेलमा ३ अंकसहित तेस्रोमा छ भने क्यामरुन र सर्बिया १-१ अंकसहित तेस्रो र चौथोमा छन् ।

राति नै भएको अर्को खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोलअन्तरले हरायो । पोर्चुगलको जीतमा  दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । खेलको ५४औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गर्दै उनले पोर्चुगलको २-० को जीत पक्का गरे र पोर्चुगललाई अन्तिम १६ मा पुग्ने बाटो खुला गरे ।

यस जीतसँगै समूह एच मा पोर्चुगलको २ खेलमा ६ अंक भएको छ । दोस्रोमा रहेको घानाको २ खेलमा ३ अंक छ भने दक्षिण कोरिया र उरुग्वे १-१ अंकसहित तेस्रो र चौथोमा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय