काठमाडौं-३ मा काङ्ग्रेसको धन्यवाद, ‘अन्तर्घात गर्नेलाई पार्टीले नछाड्ने’

काठमाडौं, १० मंसिर । नेपाली काङ्ग्रेस काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ले यस क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सांसदलाई बधाई सहित निर्वाचनको क्रममा साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
यो क्षेत्रमा गठबन्धनबाट नेपाली काङ्ग्रेसका प्रतिनिधि सभामा सन्तोष चालिसे एवं प्रदेश सभा(१) मा छिरिङ दोर्जे लामा र प्रदेश सभा(२) मा बिमल ठकुरी निर्बाचित भएका थिए । कार्यक्रममा प्रतिनिधिसभा सांसद सन्तोष चालिसेले नेताकार्यकर्तालाई धन्यवाद दिदै आफू जनताको काम गर्न निर्बाचित भएकोले कुनै गुनासो नआउने गरि काम गर्ने प्रतिबद्धता जनाए ।
आफू यसअगाडी पनि जनताको काम गरेर आएकोले त्यै अनुभव लिएर संसदमा जनताको आवाज बोल्न जादैछु भन्दै चालिसेले जनताको सुख दु:खमा साथ दिदै विकास र समृद्धिको अभियानमा लागिरहने बताए ।
प्रदेश सभा(१) का निर्बाचित सांसद छिरिङ दोर्जे लामाले जितको खुशी सङ्गै जनताको भारी बोक्न पाउदा हर्षित भएको बताए । उनले नेपाली काङ्ग्रेसले चुनाव नजित्दा लोकतन्त्र र संविधान रक्षाको लागि समेत अफ्ट्यारो परेको बेला जनताले त्यै बुझेर मत दिएको भन्दै आगामी दिनमा पनि जनताको मन जित्नेगरी काम गर्ने प्रतिबद्धता जनाए ।

उनले गठबन्धनका सहयात्री दलहरूको कारण पनि चुनावी नतिजा सकारात्मक आएको भन्दै यो क्षेत्रको सबै सिट जितेका कारण अब बिकासका पुर्वाधारले क्षेत्रको मुहार फेर्ने बताए । उनले पार्टी अनुशासन नमान्नेलाई जनता र नेताकार्यकर्ताले ठेगान लगाइदिएको पनि बताए । उनले पार्टीमा बसेर अनावश्यक कुरा गर्ने र पार्टी बिरोधि काम गर्ने अनि अन्तर्घात गर्नेको शुद्धिकरण अभियान सुरु हुने समेत बताए ।
अर्का निर्वाचित प्रदेश सांसद बिमल ठकुरीले आफू जनताको काम गर्न कुनैपनि अवस्थामा पछि नहट्ने बताए । चुनाव जिताउने सबैप्रती धन्यवाद दिदै उनले आफ्नो बुबा स्व.चक्रबहादुर ठकुरीको आत्माले गाली नगर्ने गरि इमानदार भएर काम गर्न प्रतिबद्ध रहेको बताए ।
नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि एवं चुनाव परिचालन समितिका संयोजक हरिबोल भन्डारीले नेपाली काङ्ग्रेसको जितले पार्टी नेताकार्यकर्ता सबैलाई खुशी मिलेको बताए । उनले काठमाडौ-३ ले पाएको सफलताको मूल्याकंन गर्दै पार्टीले पनि यस क्षेत्रलाई केन्द्रिय सरकार र प्रदेश सरकारमा मन्त्री दिनुपर्ने र त्यसका लागि पहल गर्ने बताए ।
संयोजक भन्डारीले चुनाव जित्ने साथीहरूले जनता र पार्टी कार्यकर्ताको मन नदुख्ने गरि काम गर्नुपर्नेमा जोड दिदै निर्वाचनको क्रममा साथ दिने सबैप्रती धन्यवाद दिए ।
नेपाली काङ्ग्रेस काठमाडौ जिल्ला सचीव एवं समानुपातिक उम्मेदवार गोबिन्द पुडासैनीले पार्टीका नेताकार्यकर्ताको मेहनतले नेपाली काङ्ग्रेसले यसपटको निर्वाचनमा महत्त्वपूर्ण सफलता हात पारेको बताए ।
नेपाली काङ्ग्रेस काठमाडौ-३ प्रदेस(१) सभापति श्रीराम चालिसेले जनप्रतिनिधि भएर राम्रो काम गरेर अगाडी बढ्दा ‘जनताको मन जितेर मत’ लिन सकिने रहेछ भन्ने कुरा प्रमाणीत भएको बताए । सन्तोष चालिसेले गोकर्णेश्वरको मेयर हुँदा र छिरिङ दोर्जेले प्रदेस सांसद भएर गरेको कामको नतिजा अहिले सबै क्षेत्र जित्न सकेको उनको भनाइ थियो ।
नेपाली काङ्ग्रेस क्षेत्रीय सचिव एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले निर्बाचित सबैलाई बधाई दिदै नेपाली काङ्ग्रेसको शानदार जितले पार्टी नेताकार्यकर्तालाई थप उर्जा मिलेको बताए । उनले विकासका पुर्वाधार निर्माण र शिक्षा,स्वास्थ,कृषि र सामाजिक कामको लागि नेपाली काङ्ग्रेसले जित्नुपर्ने रहेछ भन्ने जनताले बुझिसकेको समेत बताए ।
नेपाल महिला संघ काठमाडौ सभापति बिष्णुदेवी पुडासैनीले पार्टीमा सबैले समान अवसर पाउनुपर्ने बताइन । उनले चुनाव जितेर गएपछि जनताको काम र नेताकार्यकर्ताको संरक्षण गर्न सक्ने ब्यक्ति नै लोकप्रिय हुने बताइन् ।


