आयोजक कतार विश्‍वकप फुटबलको समूह चरणबाटै बाहिरियो

काठमाडौं, ९ मंसिर । आयोजक कतार फिफा विश्‍वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । लगातार दोस्रो हार व्यहोरेसँगै कतार एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो ।

शुक्रबार भएको खेलमा सेनेगलले कतारलाई ३-१ गोलअन्तरले हरायो । सेनेगलको जीतमा बलाए दिया, फमारा दिदिहो र बाम्बा दिङले १-१ गोल गरे भने कतारका मोहम्मद मुन्तरीले गरेको गोल सान्त्वना बन्यो ।

खेलको ४१औं मिनेटमा दियाले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४८औं मिनेटमा दिदिहोले गोल गरेपछि सेनेगल २-० ले अगाडि बढ्यो ।

७८औं मिनेटमा मुन्तारीले गोल गर्दै कतारलाई खेलमा फर्काउने प्रयास गरे । यद्यपि ८४औं मिनेटमा दिङले गोल गरेपछि सेनेगलको ३-१ को जीत सुनिश्चित भयो ।

जीतसँगै सेनेगलले समूह ए मा २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहँदै अघिल्लो चरण प्रवेशको सम्भावना जीवितै राखेको छ ।

नेदरल्यान्ड्स र इक्‍वेडरको बराबरी

केहीबेर अघि सम्पन्‍न भएको अर्को खेलमा नेदरल्यान्ड्स र इक्‍वेडरले बराबरी खेलेछि कतार बाहिरिने पक्का भएको हो । नेदरल्यान्ड्स र इक्‍वेडरले १-१ को बराबरी खेल्दै अंक बाँडे ।

खेलको छैटौं मिनेटमा कोडी गाक्पोको गोलमार्फत अग्रता लिएको नेदरल्यान्ड्सले त्यसलाई जोगाइराख्‍न सकेन । दोस्रो हाफको ४९औं मिनेटमा एनर भ्यालेन्सियाले बराबरी गोल फर्काए ।

त्यसपछि थप गोल भएनन् र दुवै टोलीले १-१ अंक बाँडे । यस नतिजासँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ र दुवै टोली अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना बलियो छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय