विश्वकप फुटबलमा पोर्चुगलको विजयी सुरुवात, घाना पराजित

काठमाडौं, ८ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत बिहिबार राति सम्पन्न खेलमा पोर्चुगल विजयी भएको छ । केहीबेर अघि मात्र सकिएको खेलमा पोर्चुगल ३-२ ले विजयी भएको थियो ।
पोर्चुगलको जीतमा क्रिस्टियानो रोनाल्डो जोआवो फेलिक्स र राफायल लियोले १-१ गोल गरे । घानाका लागि आन्द्रे आयू र ओस्मान बुकारीले १-१ गोल गरे । सबै गोल दोस्रो हाफमै भएका थिए ।
खेलको ६५औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा आयूले बराबरी गोल गर्दै घानालाई खेलमा फर्काए । त्यसपछि पोर्चुगलले २ मिनेटमा २ गोल गर्दै दबाब पुनः बढाएको थियो ।
७८औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगललाई अगाडि ल्याए भने ८०औं मिनेटमा लियोले गोल गर्दै पोर्चुगललाई ३-१ ले अगाडि राखे । ८९औं मिनेटमा बुकारीले गोल गरेपछि खेल पुनः रोमाञ्चक बनेको थियो ।
इन्जुरी समयको अन्त्यतिर गोलरक्षक डियोगो कोस्टाले गल्ती गरेपनि पोर्चुगल सम्भावित खतराबाट जोगिएको थियो । त्यसपछि गोल भएनन् र पोर्चुगल ३-२ ले विजयी भयो ।

