विश्वकप फुटबल: बेल्जियमको विजयी सुरुवात

काठमाडौं, ८ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत राति भएको समूह एफ को खेलमा बेल्जियम विजयी भएको छ । बेल्जियमले क्यानडालाई १-० ले गोलअन्तरले हराएको हो ।
बेल्जियमको जीतमा पहिलो हाफमा मिची बात्सुआइले गरेको गोल नै निर्णायक बनेको थियो । पहिलो हाफको ४४औं मिनेटमा बात्सुआइले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा थप गोल गर्ने प्रयास गरेपनि दुवै टोलीबाट गोल आउन सकेन र बेल्जियम १-० को झिनो अन्तरले विजयी हुँदै ३ अंक जोड्न सफल भयो ।
जीतसँगै बेल्जियम ३ अंकसहित समूहको शीर्षस्थानमा छ भने हिजो बराबरी खेलेका क्रोएसिया र मोरक्को १-१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।
विश्वकपअन्तर्गत आज पनि चार खेल हुँदै छन् । दिउँसो पौने चार बजे क्यामरुन र स्वीट्जरल्यान्ड भिड्दै छन् । त्यसैगरी साँझ पौने ७ बजे उरुग्वे र दक्षिण कोरिया भिड्दै छन् ।
राति पौने १० बजे पोर्चुगल र घाना भिड्दै छन् भने मध्यराति पौने १ बजे ब्राजिल र सर्बिया भिड्ने छन् ।

