विश्वकप फुटबलमा स्पेनको फराकिलो जीत

काठमाडौं, ८ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनले फराकिलो जीत निकालेको छ । स्पेनले कोस्टा रिकालाई ७-० गोलअन्तरले हराएको हो ।
स्पेनको जीतमा फेरान टोरेसले २ गोल गर्दा गाभी, ड्यानी ओल्मो, अल्भारो मोराटा, कार्लोस सोलेर र मार्को असेन्सियोले १-१ गोल गरे । पहिलो हाफमा ३ गोल गरेको स्पेनले दोस्रो हाफमा ४ गोल थप्यो ।
खेलको ११औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । २१औं मिनेटमा असेन्सियोले जोर्डी अल्बाको क्रसमा गोल गरेपछि स्पेनले अग्रता दोब्बर बनायो । ३१औं मिनेटमा प्राप्त पेनाल्टीमा टोरेसले गोल गरेपछि पहिलो हाफमा स्पेनले ३-० को अग्रता बनायो ।
दोस्रो हाफको ५४औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४-० ले अगाडि ल्याए । ७४औं मिनेटमा युवा मिडफिल्डर गाभीले गोल गर्दै स्पेनलाई ५-० को अग्रता दिलाए ।
९०औं मिनेटमा कार्लोस सोलेरले गोल गरे भने इन्ज्युरी समयमा मोराटाले गोल गर्दै स्पेनलाई ७-० को फराकिलो जीत दिलाए ।
फराकिलो जीतसँगै स्पेन गोल अन्तरका आधारमा समूह ई को शीर्ष स्थानमा उक्लिएको छ । यसअघि जर्मनीलाई हराएको जापान र स्पेनको समान ३-३ अंक छ ।

