विश्वकप फुटबलमा जर्मनीमाथि जापानको जीत

काठमाडौं, ७ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत बलियो टोली जर्मनी पहिलो खेलमै पराजित भएको छ । जर्मनीलाई जापानले २-१ गोलअन्तरले हराएको हो ।
एक गोलले पछि परेको अवस्था उल्टाएर जीत निकाल्ने क्रममा जापानका रित्सु दोआन र ताकुमा आसानोले एक एक गोल गरे । जर्मनीका इल्काए गुन्डोगानले गरेको गोल सान्त्वना बन्यो ।
खेलको ३३औं मिनेटमा पेनाल्टीमार्फत गुन्डोगानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा भने अग्रता बढाउन त सकेन नै, भइरहेको अग्रता पनि गुमायो ।
दोस्रो हाफको ७५औं मिनेटमा दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको आठ मिनेटपछि आसानोले गोल गर्दै जापानलाई खेलमा अगाडि ल्याए र जापान २-१ ले विजयी भयो ।
जर्मनी यसअघिको विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणको अन्तिम खेलमा जर्मनीले दक्षिण कोरियासँग २-० को हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।
जीतसँगै जापानले समूह ई मा ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा राति स्पेन र कोस्टारिका भिड्दै छन् ।
यसअघि आज भएको पहिलो खेलमा पूर्वउपिजेता क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

