काठमाडौंमा काङ्ग्रेस र स्वतन्त्र पार्टी हावी हुँदा माओवादी र समाजवादी शून्य !

काठमाडौं, ७ मंसिर । उपत्यकाको १५ प्रतिनिधिसभा सिटमध्ये चार सिट लिएर चुनावी मैदानमा उत्रेको नेकपा माओवादी केन्द्र शुन्य भएको छ । यसैगरी दुई सिट लिएको नेकपा एकीकृत समाजवादी पनि प्रतिस्पर्धामै आउन सकेन ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२, ७ र ९ तथा ललितपुर-३ माओवादीले पाएको थियो । काठमाडौ-२ बाट पुर्व सभामुख ओनसरी घर्ती, ललितपुर-३ बाट ऊर्जामन्त्री पम्फा भुषाल, काठमाडौं-९ बाट पुर्वमन्त्री कल्पना धमला र काठमाडौं-७ बाट मानुषी यमी माओवादी उम्मेदवार थिए ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीका काठमाडौं ८ बाट उम्मेदवार रहेका पर्यटन मन्त्री जिवनराम श्रेष्ठ प्रतिस्पर्धामै नदेखिइ पराजित भए । उता ललितपुर-२ का उम्मेदवार पनि एमाले उम्मेदवारसँग पराजित हुन पुगे ।
यता नेपाली काङ्ग्रेसले भने काठमाडौंको ६ सिटमध्ये ५ वटामा जित निकालेको छ । काङ्ग्रेसले निर्वाचन क्षेत्र १, ३, ४, ५ र १० मा जित हासिल गरेको छ । काठमाडौं-१ बाट प्रकाशमान सिंह, ३ बाट सन्तोष चालिसे, ४ बाट गगन थापा, ५ बाट प्रदिप पौडेल र १० बाट राजन केसी बिजयी भए । काठमाडौं-६ मा भने काङ्ग्रेसलाई स्वतन्त्रले हरायो ।
काठमाडौं-१ बाट प्रकाशमान सिंह, ३ बाट सन्तोष चालिसे, ४ बाट गगन थापा र ५ बाट प्रदिप पौडेल विजयी भए । यसैगरी काङ्ग्रेसले लिएको ललितपुर-१ र भक्तपुर-२ मा मतगणना जारी रहेको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले भने अस्वभाविक परिणाम हात पारिरहेको छ । सो पार्टीले ललितपुर-३ बाट डा.तोशिमा कार्की, काठमाडौं-२ बाट सोबिता गौतम र काठमाडौं-७ बाट गणेश पराजुली र काठमाडौं-८ बाट विराजभक्त श्रेष्ठले जित हात पारेका छन् ।
नेकपा एमालेले काठमाडौं उपत्यका भर जम्मा १ सिट जितेको छ । काठमाडौं-९ बाट पुर्व मन्त्री कृष्णगोपाल श्रेष्ठले जित निकालेका हुन् ।

