विश्‍वकप फुटबलमा फ्रान्सको शानदार जीत, मेक्सिको र पोल्यान्डको बराबरी

काठमाडौं, ७ मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत गएराति भएको समूह डी को खेलमा फ्रान्सले शानदार जीत हासिल गरेको छ । फ्रान्सले अस्ट्रेलियालाई ४-१ गोलअन्तरले हराएको हो ।

फ्रान्सको जीतमा ओलिभर जिरुडले २ गोल गरे भने एड्रियन राबियट र किलियन एमबाप्पेले एकएक गोल गरे । अस्ट्रेलियाका क्रेग गूडविनले गरेको गोल सान्त्वना बन्यो ।

खेलमा अग्रता भने अस्ट्रेलियाले लिएको थियो । नवौं मिनेटमा गूडविनले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा राबियटले गोल गर्दै खेल बराबरीमा ल्याए । जिरुडले ३२औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै फ्रान्स २-१ ले अगाडि आयो ।

६८औं मिनेटमा युवा फरवार्ड एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता बढाए । त्यसको तीन मिनेटपछि जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ४-१ को जीत दिलाए ।

जीतसँगै फ्रान्स ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीको १-१ अंक भएको छ ।

गएराति नै भएको समूह सी को अर्को खेलमा मेक्सिको र पोल्यान्डले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यसै समूहमा त्यसअघि भएको खेलमा अर्जेन्टिना पराजित भएको थियो ।

समूह सी मा साउदी अरेबिया ३ अंकसहित शीर्षमा छ भने मेक्सिको र पोल्यान्डको १-१ अंक र अर्जेन्टिना अंकविहीन छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय