काठमाडौ-३ मा काङ्ग्रेसको ‘क्लिन स्वीप’ !
परेवान्युज
काठमाडौं, ६ मंसिर । नेपाली काङ्ग्रेसले काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ मा ‘क्लिन स्वीप’ गर्ने निश्चित भएको छ । यद्यपि यहाँको मतगणना जारी छ ।
सोमबार राति सम्पन्न प्रदेश सभा(१) को मतगणनाबाट नेपाली काङ्ग्रेसका छिरिङ दोर्जे लामा विजयी भैसकेका छन् । उनले ४ हजार ५ सय ५८ मत ल्याएर बिजयी हुँदा एमाले उम्मेदवार चन्द्रमान लामाले ३ हजार ४ सय १५ मत ल्याएर पराजित भए । नेपाली काङ्ग्रेस पार्टीबाट बागी उम्मेदवारी दिएका दिपेन्द्र लामाले २ हजार ९ सय ३३ भोट ल्याउदा पनि छिरिङले दोस्रोपटक बाजी मारे ।
यता प्रतिनिधि सभा र प्रदेश सभा(२) को गणना जारी रहेको छ । तर, मतगणना जारी रहेको अवस्था हेर्दा र मत गणना गर्न बाकी क्षेत्रलाई मुल्यांकन गर्दा प्रतिनिधि सभामा सन्तोष चालिसे र प्रदेश सभा(२) मा बिमल ठकुरी पनि जित नजिक छन् ।
काठमाडौ-३ मा गठबन्धनको समेत साथ लिएर नेपाली काङ्ग्रेसका सबै उम्मेदवार जितको नजिक पुगेको चुनाव परिचालन एवं प्रचारप्रसार समिति संयोजक हरिबोल भन्डारीले बताए ।’यो हामी नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता साथीहरूको तीन महिनादेखिको अथक प्रयासपछिको सफलता हो’-संयोजक भन्डारीले परेवान्युजसंग भने-‘हाम्रो मेहनतमा गठबन्धनका साथीहरूको पनि साथ मिल्यो र त्यसैले जितको नजिक छौं ।’
पछिल्लो मत परिणाम अनुसार काठमाडौ-३ मा सन्तोष चालिसेले प्रतिस्पर्धी कृष्ण राईलाई २९०६मतले पछि पारेका छन् । चालिसेको ११९८९ मत आउँदा राईको जम्मा ९०८३ मात्रै मत आएको छ । त्यसैगरी प्रदेशको(२)मा पनि नेपाली काङ्ग्रेसका बिमल ठकुरी फराकिलो मतान्तरले अगाडी छन् । उनले बिपक्षी रामेश्वर फुयाललाई २०६६ मतले पछि पारेका छन् ।
अन्तिम चुनावी नतिजा सार्बजनिक हुन केही समय बाकी भएपनी नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता जितको खुशी मनाउने सुरसार गर्दैछन् ।’काठमाडौ-३ प्रतिनिधि सभा र प्रदेशका दुबै क्षेत्र जित्नेमा ढुक्क भयौं,तर निर्वाचन आयोगको नतिजा कुर्दैछौ’ संयोजक भन्डारी भन्छन्-‘सबै क्षेत्र जित्नेगरि जुन मेहनत गरेका थियौं रिजल्ट पनि सकारात्मक आयो, मेहनत खेर गएन ।’
नेपाली काङ्ग्रेस काठमाडौ-३ निर्वाचन परिचालन एवं प्रचारप्रसार समितिले ‘नागरिक संग उम्मेदवार’ ‘उम्मेदवार घरदैलो’ ‘बुद्धिजीवीसंग उम्मेदवार’ ‘युवा विद्यार्थीसंग उम्मेदवार’ जस्ता लोकप्रिय कार्यक्रम चलाएको थियो ।

